काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटीएम’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त वाटर एटीएमको आइतबार एक कार्यक्रमका बीच खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रमा मन्त्री चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनुपर्ने बताए । जलस्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको उनको भनाइ छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिरामी र बिरामीका कुरुवालाई वाटर एटीएमको निर्माणले ठूलो सहयोग पुग्ने भन्दै उनले अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटीएम जडानको अभियानलाई अघि बढाइने बताए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रूपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटीएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रूपैयाँमा कागजको कपसहित दुई सय मिलिलिटर पाउँछन् ।
बोर्डका वरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताको लागि २४सै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताए । उनले पाँच रूपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटरजत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने जानकारी दिए । बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले बोर्डले स्थापना गरेको वाटर एटीएमबाट उपभोक्ताले शुद्ध खानेपानी चौबीसै घण्टा वितरण गरिरहेको भन्दै आगामी दिनमा सर्वसाधरणको भिडभाड हुने सार्वजनिक स्थलमा यसको सेवा विस्तार गर्दै लैजाने बताए ।