काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस् भन्ने हेतुले आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसाय संघले संयुक्तरूपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखि १२ गतेसम्म यो मेला आयोजना गरेको हो । यस कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबी लघुवित्त वित्तीय संस्थाले पनि सहभागिता जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कृषिकर्जासम्बन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषिकर्जामैत्री नीति निर्माणमा थप टेवा पुग्ने उद्देश्यका साथ उक्त मेलामा वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले समेत सहभागिता जनाएका छन् ।
एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले देशका सातवटै प्रदेशमा प्रादेशिक कार्यालयसहित ६८ जिल्लाका विभिन्न स्थानहरूमा एक सय ४८ वटा शाखा तथा उपशाखा कार्यालयहरू सञ्चालन गरी करिब एक लाख १९ हजार विपन्न घरपरिवारका सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको बताएको छ ।