बेइजिङ । चाइना इस्टर्न एयरलाइन्सले दर्जनौँ बोइङ विमान ग्राउन्डेड गर्ने भएको छ । अघिल्लो हप्ता भएको विमान दुर्घटनापछि उक्त एयरलाइन्स र यसका सब्सिडरी कम्पनीले अस्थायी रुपमा २२३ बोइङ ७३७–८०० शृंखलाका विमानहरु ग्राउन्डेड गरेको एयरलाइन्सका प्रवक्त लिउ सियादोङले जानकारी दिएका हुन् ।
सोही शृंखलाको विमान दुर्घटनामा परेको थियो । ग्राउन्डेड विमानहरुको सुरक्षा अवस्थाको अनुगमन र मर्मतसम्भार भइरहेको एयरलाइन्सले जनाएको छ । यी सबै कामपछि मात्रै विमानलाई उडाइने कम्पनीले जनाएको छ । कुनमिङबाट ग्वान्झाउ गइरहेको विमान गुआङसीमा दुर्घटनाग्रस्त भएको थियो । सोमबारको दुर्घटनाको कारण अझै खुलेको छैन ।
यसका दुवै ब्ल्याकबक्स फेला परिसकेको छ भने यात्रु सबैको मृत्यु भएको छ । विमानमा १३२ मानिस यात्रारत थिए । यो शृंखलाको विमान बोइङको साधारण भर्सनको जेट रहेको छ । धेरै विमान कम्पनीहरुले यो जहाज प्रयोग गरिरहेका छन् ।