ब्रसेल्स । संयुक्त राज्य अमेरिका र युरोपेली संघले ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन् । तरलीकृत प्राकृतिक ग्यास आपूर्तिसम्बन्धी सम्झौता भएको हो । युक्रेनमाथि आक्रमण गरेसँगै युरोपेली संघले रुससँगको निर्भरता घटाउने उद्देश्यले यो सम्झौता भएको बुझिएको छ । सम्झौतासँगै यही वर्षको अन्त्यसम्ममा अमेरिकाले युरोपलाई थप ग्यास आपूर्ति गर्नेछ । यो भनेको रुसबाट आपूर्ति गर्नेमध्ये १० प्रतिशतजति भएको बताइएको छ ।
युरोपेली संघले रुसी ग्यास नलिने बताउँदै आएको छ । रुसले अहिले युरोपको ग्यास आवश्यकताको ४० प्रतिशत आपूर्तिं गर्छ । नयाँ सम्झौताले अमेरिकाले निर्यात गरिरहेकोमध्ये थप १५ अर्ब क्युबिक ग्यास आपूर्ति गर्नुपर्नेछ । यो सबै भनेको अहिले रुसबाट आउनेमध्ये २४ प्रतिशत हो ।
अमेरिका र यसका अन्तर्राष्ट्रिय साझेदारले ईयूलाई प्रतिवर्ष ५० अर्ब क्युमि ग्यास उपलब्ध गराउनेछन् । रुससँगको निर्भरता तोड्न नवीकरणीय ऊर्जा र ऊर्जा पर्याप्ततालाई पनि सुधार हुने बताइएको छ । दुई पक्षबीच शुक्रबार यस्तो सम्झौता भएको हो । तीन दिने भ्रमणमा अमेरिकी राष्ट्रपति ब्रसेल्स गएका बेला सम्झौता भएको बताइएको छ ।