काठमाडौँ । औषधि व्यवस्थापन विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीको नेतृत्वमा एउटा टोली विभिन्न भारतीय औषधि कम्पनीको अडिट गर्न आइतबार भारत प्रस्थान गरेको छ । उक्त टोलीमा केसीसँगै किरण बज्राचार्य पनि भारत गएका छन् ।
नेपालले आयात गर्ने भारतीय औषधि कम्पनीहरुको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) अडिट गर्ने चलन छ र नेपालले आयात गर्ने औषधिहरु त्यो परीक्षणमा उत्तीर्ण हुनुपर्छ । औषधि आयातकर्ताहरुसँगको मिलेमतोमा भारतीय औषधि आयात गर्न लागिएको आरोप लागिरहेका बेला त्यसैलाई पुष्टि गर्ने गरी महानिर्देशक भरत भट्टराईले केसीको नेतृत्वमा एउटा टोली भारत पठाएका हुन् ।
स्मरणीय के छ भने यसअघि तत्कालीन महानिर्देशक नारायण प्रसाद ढकालले विभागीय अधिकारी शिवानी खड्गीलाई जीएमपी अडिट गर्न भारत पठाउने निर्णय गरी पत्र समेत दिइएको थियो तर अहिले महानिर्देशक भट्टराईले विभागको उक्त निर्णय उल्टाएर आफ्नो स्वार्थसमूहका सन्तोष केसीलाई भारत पठाएका हुन् । उनीहरुले भारतमा चारवटा कम्पनीको अडिट गर्ने बुझिएको छ ।
महानिर्देशक भट्टराईले सेटिङमा कम गुणस्तरका भारतीय औषधि भित्र्याउन खोजेको समाचार प्रकाशित भइरहेका बेला भट्टराईले आफ्नो अनुकूलका पात्र केसीलाई जीएमपी अडिटका लागि भारत पठाउनुले घटनाक्रमलाई थप सशंकित बनाएको छ ।