काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ४० अर्ब रुपैयाँबराबरको बोनस सेयर थप भएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्ष सुरु भएयता अर्थात् २०७८ साउन ४ देखि २०७८ फागुन १ सम्ममा कुल ४० अर्ब ८९ करोड ३१ लाख ६५ हजार आठ सय १४ रुपैयाँ ६८ पैसाबराबरको बोनस सेयर सूचीकृत भएको हो । जसअन्तर्गत वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, निर्जीवन एवं जीवन बीमा, जलविद्युत्सहितका ८७ वटा कम्पनीहरुका कुल ४० करोड ८९ लाख ३१ हजार छ सय ५८ दशमलव १५ कित्ता बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा भने ११ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर निष्काशनको लागि अनुमति दिइएको छ । यस अवधिमा तीन अर्ब ८० करोड रुपैयाँबराबरको डिबेन्चर, तीन अर्बबराबरको म्युचुअल फण्ड, दुई अर्ब ८४ करोडबराबरको साधारण सेयर र दुई अर्ब तीन करोडबराबरको हकप्रद सेयर गरी कुल ११ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर निष्काशन गर्न अनुमति दिइएको छ ।
बोर्डका अनुसार २०७७ माघ मसान्तमा २५ सय २६ दशमलव नौ अंकमा रहेको नेप्से सूचकांक २०७८ माघ मसान्तमा २८ सय एक दशमलव छ अंकमा पुगेको छ । यसैगरी २०७८ माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड पुगेको छ । २०७७ माघ मसान्तमा बजार पुँजीकरण ३४ खर्ब छ अर्ब १७ करोड रुपैयाँ रहेको बोर्डको भनाइ छ । २०७८ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या भने दुई सय २६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँचवटा होटल, पाँचवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका छन् । २०७७ माघमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १६ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५ दशमलव आठ प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १० दशमलव आठ प्रतिशत, लगानी कम्पनीको सात दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव पाँच प्रतिशत, होटलको हिस्सा एक दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौ दशमलव सात प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ माघसम्ममा सूचीकृत छ अर्ब ५६ करोड सेयरको चुक्ता मूल्य भने छ खर्ब ४६ अर्ब ८४ करोड पुगेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार चालू आवको सात महिनासम्ममा ४६ अर्ब १६ करोडबराबरको डिबेन्चर, १५ अर्ब ८६ करोडबराबरको साधारण सेयर, १० अर्ब ९६ करोडबराबरको बोनस सेयर, नौ अर्ब १८ करोडबराबरको हकप्रद सेयर र तीन अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल ८५ अर्ब ९१ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।