विराटनगर । भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएपछि विराटनगरमा अवैध जुवाजन्य फाट्का खेलले विशेष चर्चा पाउन थालेको छ । अहिले विराटनगरमा प्रिमियर लिगको नाममा दैनिक करोडौँको खेल हुनेगरेको छ ।
स्रोतका अनुसार लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज)को धन्दा चलाउँदै आएका विराटनगरका व्यापारी समुदायका युवाहरूले अहिले भारतमा जारी रहेको इन्डियन प्रिमियर लिगको क्रिकेटमा दैनिक करोडौँको कारोबार गरेका छन् । भारतमा आईपीएल सुरु भएपछि विराटनगरबाट गरिने फाट्काको सौदामा युवा व्यापारीहरू अग्र स्थानमा रहेका छन् । फट्काका सट्टेबाजहरूले दिनभरि क्रिकेटको हुने खेलका आधारमा स्थानीय व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने कामलाई तीव्रता दिएको स्रोतको भनाइ छ । केही वर्षअगाडि मोरङ प्रहरीका तत्कालीन प्रमुख प्रद्युम्न कार्कीले फट्काका नामुद खेलाडीलाई उनले प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर मुद्दा चलाएपछि फट्का केही मत्थर भएको थियो । अहिले इन्डियन प्रिमियर लिग सुरु भएसँगै फेरि उसले उग्ररूप लिन पुगेको छ । नेपाल प्रहरीका घुमुवाहरूलाई समेत प्रभावमा पारेर नेपालमा फाट्काको बुकी चलाउने गरेको स्रोतको दाबी छ ।
अवैध जुवाजन्य फाट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्नेगरेका छन् । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरूले फाट्काको दाउमा सट्टा लिने गरेका छन् । विराटनगरको विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फाट्का चलाउनेमा नाम कहलिएका व्यक्ति समेत रहेको स्रोतको दाबी छ । प्रहरीस्रोतका अनुसार दिनरात प्रहरीहरूकै सङ्गतमा रहेकाहरू नै अवैध हुने फाट्कामा संलग्न रहेको पहिचान हुँदा प्रहरीलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या भएपछि यसको धन्दामा वृद्धि हुँदै गएको छ । प्रहरीलाई पनि यो खेलमा तत्काल प्रमाण फेला पार्न नसकिने भएपछि फाट्का चलाउने नाइके बुकीसम्म पुग्न कठिनाइ भएको बताइएको छ ।
अधिकांश व्यापारी समुदायका युवाहरू रहेका कारण यो अवैध खेलले प्रश्रय पाएको प्रहरीस्रोतले जानकारी दिएको छ । फट्का चलाउने मुख्य नाइके बुकीहरूले निकै व्यवस्थित सूचना प्रणाली अपनाएर बुक सञ्चालन गर्नेगरेका छन् । प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुनअनुसार मात्र कारबाही चलाउने भएकोले फट्काका खेलाडी र बुकी सञ्चालन गर्ने नाइकेहरूले प्रहरीको कारबाहीलाई खासै वास्ता नगर्ने तर प्रहरीले पक्राउ गरी लाँदा आफ्नो इज्जतसँग मात्र सरोकार राख्ने गरेको हुँदा अवैध खेल फट्का व्यवसायी घरानाका युवामाझमा मात्र लोकप्रिय खेल भएको बताइन्छ ।