काठमाडौं । औषधि व्यवस्था विभागले विदेशी औषधि आयात गर्न अनुमति दिने क्रममा गरेको अनियमिततालाई आर्थिक दैनिकले सिलसिलेबर रुपमा उजागर गरेपछि त्यसबाट अतालिएको विभागको नेतृत्वले समाचारको बुदाँगत रुपमा खण्डन गर्ने आट नभएर प्रेस विज्ञप्ति निकालेर विषयवस्तुबारे अरु सबैलाई दिग्भ्रमित पारेर अनियमिततालाई लेप लगाएर ढाकछोप गर्ने प्रयास गरेको छ ।
उक्त घोटालामा प्रत्यक्ष जोडिएका विभागका महानिर्देशक भरत भट्टराई र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गत १० गते संयुक्त प्रेस विज्ञप्ति निकालेर अनियमितताको ढाकछोप गर्ने दुष्प्रयास गरेका हुन् । स्मरणीय के छ भने प्रेस विज्ञप्ति निकालेर समाचारको खण्डन हुँदैन । समाचार छापिएको सञ्चारमाध्यममा नै तथ्यगत रुपमा खण्डन गर्नुपर्छ । तर त्यसो गर्ने आँट महानिर्देशक भट्टराईले गरेका छैनन् र प्रेस विज्ञप्ति निकालेर आफूअनुकूलका मिडियामा आर्थिक दैनिकको समाचारविरुद्ध विषवमन गरेका हुन् ।
आफूविरुद्धको समाचार आएसँगै अतालिएका महानिर्देशक भट्टराईले आफ्नो नियोजित अर्थलाभको मार्ग नै अवरुद्ध हुने गरी समाचार आएसँगै जारी विज्ञप्ति भने विभागको वेबपेजमा सार्वजनिक गर्ने महानिर्देशक भट्टराईले यसअघि विभागका तत्कालीन महानिर्देशक नारायण ढकालले मिति २०७८ माघ ४ मा विभागीय निर्णय गर्दै कुख्यात औषधि आयातकर्ता खण्डेवालको स्वामित्वमा रहेको पार्थ फर्मालाई गरिएको कारबाही र निजले नेपाली औषधि बजारमा निर्बाध आयात र छ्याप्छ्याप्ती बिक्री वितरणका गर्दै आएको उक्त कम्पनीको औषधि ‘रिकल’को सूचनासम्म जारी गरेन ।
त्यस्तै पार्थ फर्माका सञ्चालक सचिन खण्डेवालले नियामक निकायलाई गुमराहमा राख्दै यो वा त्यो नाममा औषधि नेपाल आयात गर्दै सघन उपचार केन्द्रमा उपचार हुँदै गरेको बिरामीको स्वास्थ्यमा गम्भीर घात गर्दै आइरहेको पाइएसँगै पार्थ फर्मालाई उक्त औषधि आयात गर्न प्रतिबन्ध लगाउँदै गरेको कारबाहीको पत्र जनजनको पहुँचमा सार्वजनिक सूचना पुग्ने गरी विभागको वेब पेजमा आजको मितिसम्म सार्वजनिक समेत नगरी विभागीय निर्णयलाई आर्थिक लाभकै लागि खण्डेवाललाई सुरक्षा कवच दिलाउने महानिर्देशक भट्टराईको नियत घामजस्तै छर्लङ्ग छ ।
वरिष्ठ औषधि व्यवस्थापकको जिम्मेवारीमा रहेका सन्तोष केसीले महानिर्देशक भट्टराईले गरेका सबै आर्थिक अपराधमा छायाँ महानिर्देशकको रुपमा गर्दै आएको चलखेल थप चर्चित छ ।
‘मोही माग्ने ढुंग्रो लुकाउने’ नियतिका पृष्ठपोषक महानिर्देशक भट्टराई र व्यवस्थापक केसीले संयुक्त हस्ताक्षरमा यस दैनिकमा प्रकाशित समाचारका विषयलाई लिएर मिति २०७८ चैत १२ गते जारी विज्ञप्तिमा पत्रकार आचारसंहिता र प्रेस काउिन्सल ऐनविपरीत प्रकाशित समाचार भ्रामक र कपोकल्पित रहेको जिकिर गर्दै पत्रिकाविरुद्ध कानुनी कारबाही गर्न बाध्य हुने भन्दै दिएको ध्वाँससँगै प्रकाशित समाचारको भ्रममा नपर्न गरेको आग्रह केवल ‘पानीमाथिको ओभानो’ बन्ने प्रयास शिवाय केही होइन ।
यसैबीच, प्रकाशित समाचार नियोजित देख्ने महानिर्देशक भट्टराईलाई खुला प्रश्न :
१. राजेश मेडिसिन वीरगञ्जसहित दर्जन कम्पनीका आयातकर्ता परिवर्तन गरी पार्थ फार्मालाई आधिकारिक आयातकर्ता तोक्ने निर्णय गर्नुपूर्व राजेश मेडिसिनका सेयरधनी सचिन खण्डेवालका सहोदर भाइ सुनिल खण्डेवालले आयातकर्ता परिवर्तन नगर्न अदालतको आदेशसहित विभागमा दिएको निवेदनमा एकतर्फी निर्णय गर्दै वार्षिक दुई सय करोडको कारोबार हुने पार्थ फर्मामा सचिन खण्डेवालको एकल स्वामित्व कायम गर्दै किन र केका लागि आयातकर्ता परिवर्तन गरियो ।
२. एसिया बायोटेक कम्पनीले जीएमपीको स्वीकृति समेत नक्कली कागजात पेश गरेका कारण विभागले कारबाही गर्दै उक्त कम्पनीको औषधि नेपालमा आयात गर्न लगाएको रोकलाई विना अडिट उक्त कम्पनीको औषधिलाई के कति कारणले आयात गर्न दिइयो ? त्यस्तै एसिया बायोटेक कम्पनीमाथि भएको कारबाही त परै जाओस्, उक्त कम्पनीलाई आयात अनुमतिको निर्णय किन सार्वजनिक गरिएन ?
३. त्यस्तै विभागले तत्कालीन विभागीय महानिर्देशक नारायण ढकालको कार्यकालमा हालैमात्र अर्थात् २०७८ माघ ४ गते भेनस रेमिडिजले नक्कली काजगपत्र पेश गरी सघन उपचारका बिरामीका लागि जीवनरक्षक औषधि आयात गरिरहेको भनी नौ प्रकारका गुणस्तरहीन औषधि बिक्रीवितरणमा रोक लगाउन र उक्त कम्पनीको आयातका लागि विभागबाट जारी अनुमतिपत्र तत्काल फिर्ता गर्न गरेको निर्णयको बर्खिलाप मौजुदा महानिर्देशक भट्टराईले उक्त औषधि बजारबाट फिर्ता गर्न सार्वजनिक सूचना त परै जाओस् कारबाही गरिएको पत्र समेत सार्वजनिक नगर्नुको मुख्य कारण के हो ?
४. नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीको औषधि कम्पनीको अडिट गर्न तत्कालीन महानिर्देशकले विभागीय निर्णयसहित तोकेका निरीक्षकलाई हटाउँदै किन वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी नेतृत्वको टिम पठाइयो ?
५. विदेशी औषधिको निरीक्षण गर्न भनी तत्कालीन महानिर्देशकको कार्यकालमा सचिवस्तरीय निर्णयसहित छनौट भएका कम्पनी अडिट टोली परिचालन गर्नुपर्नेमा महानिर्देशकको जिम्मेवारी प्राप्त भएलगत्तै दुई नयाँ कम्पनी थप गर्नका लागि यसअघि सदर भएको टिप्पणी रद्द गर्दै अर्को टिप्पणी उठाउँदै हतार–हतारमा यी कम्पनीको अडिट किन र केका लागि भएको हो यी कम्पनीले नेपाल आयात गर्ने औषधि कुन बिरामीका लागि प्रयोग हुने हो ?
त्यस्तै कम्पनी अडिटका लागि विभागीय निर्णयसहित शिवानी खड्गीको टिमलाई हटाएर किन सन्तोष केसी नेतृत्वको टिम पठाउनुको कारण के हो ? के खड्गी नेतृत्वको टिम अक्षम भएको हो कि ? आर्थिक दैनिकमा प्रकाशित यिनै समाचारको तथ्यगत रुपमा खण्डन गर्न कसैले छेकेको छैन । भट्टराईले खण्डन गर्ने हिम्मत गरे आर्थिक दैनिक त्यसलाई हार्दिक स्वागत गर्दछ । (आर्थिक दैनिकबाट)