विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंकिङ तरलता, कर्जाको ब्याजदरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनुजस्ता कारणबाट सङ्कटमा परिरहेको उद्योग व्यवसाय क्षेत्रमा अघोषित लोडसेडिङले झन् ठूलो समस्यामा पारेको जनाएको छ ।
सरकारले विद्युत् खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत् प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरूले करौडौँको थप लगानी गरेको महासंघको भनाइ छ । यस्तो अवस्थामा प्राधिकरणले अघोषित लोडसेडिङ गर्न उद्योग व्यवसायमा ठूलो क्षति भएको महासंघका अध्यक्ष टिकाराज ढकालले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको उल्लेख छ ।
महँगो डिजलबाट उद्योग सञ्चालन गर्दा स्वदेशी उद्योगहरूले आयातित वस्तुमा प्रतिस्पर्धा गर्न नसकी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै महासंघले विद्युत् प्राधिकरणको घाटालाई न्यूनीकरण गर्ने नाममा उद्योगमाथि नै थप भार पार्ने काम नगर्न आग्रह गरेको छ । स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ तत्काल हटाउनुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।