काठमाडौं । काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ बाट मेला सुरु भएको थियो ।
गत फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनालेअन्तर्गत भिन्न–भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका तीन सयभन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् । २०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण रोकिएको थियो । काठमाडौं ट्रिएनाले बिहीबारसम्म चल्नेछ । काठमाडौं ट्रिएनालेका सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिनेछ । काठमाडौं ट्रिएनालेको आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते सम्झौता भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवात भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । यस प्रदर्शनीले ४० भन्दा धेरै देशका सयभन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठीलगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् । विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आयोजित यी कार्यक्रम ट्रिएनाले अवधिभर प्रस्तुत गरिनेछन् ।