काठमाडौं । सानिमा बैंकको गोकर्णेश्वर शाखाले यही चैत १२ गते ग्लोबल मनि वीक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो जसले महिलाहरूलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरू, क्यूआर कोड र डिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू समावेश गरिएको थियो । शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरिन् । बैंकले यसैगरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजन गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।