काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर भाँडेको भन्दै हिमालयन बैंकलाई कडा र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कम कारबाही गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकनिकट स्रोतका अनुसार बिहीबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन बैंकलाई कडा कारबाही गरेर नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराउने निर्णय गरेको हो ।
स्रोतका अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको सबै प्रक्रिया पुगिसकेको मर्जर भाँड्नमा हिमालयन बैंकको सञ्चालक समितिको हात रहेको भन्दै हिमालयन बैैंकका सञ्चालकहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । तर उक्त प्रकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकको हकमा भने नेपाल राष्ट्र बैंक नरमरुपमा प्रस्तुत भएको छ । स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकहरुको हकमा भने नेपाल राष्ट्र बैंकले सचेत मात्र गराउने निर्णय गरेको छ ।
यसबाहेक दुवै बैंकहरुलाई अबको एक वर्षभित्र मर्जर गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको स्रोतले बताएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा पृथ्वी बहादुर पाँडे अध्यक्ष छन् भने हिमालयन बैंकमा प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्ष छन् ।