काठमाडौं, माघ २९
भारतीय व्यावसायिक घराना डेल्टिन समूहले काठमाडौको होटल म्यारिएटबाट पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ गरेको छ । समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै सञ्चालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाइमा लैजाने विश्वास गरिएको छ ।
साथै पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहने समूहको दाबी छ । क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरञ्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतास्वरुप उनीहरुलाई छ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो ।
यो क्यासिनो सञ्चालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको बताइएको छ ।