मस्को । रुसले आफूसँग ग्यास र तेल खरिद गर्ने युरोपेली देशलाई रुसकै मुद्रामा भुक्तानी गर्नुपर्ने बताएको छ । रुबलमा भुक्तानी नगरे आपूर्ति काट्ने चेतावनी रुसले दिएको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । बीबीसीका अनुसार उक्त निर्णयसँगै तेल र ग्यास खरिद गर्ने ‘अप्ठ्यारा देश’ले अब रुसी बैंकमा रुबल खाता खोल्नुपर्नेछ । रुसी राष्ट्रपतिले भनेका छन्, ‘कसैले पनि हामीलाई निःशुल्क बेच्दैन र हामी पनि कसैलाई दान गर्नेछैनौँ । मौजुदा सम्झौताहरु अब रोकिनेछन् ।’
युक्रेनमाथि गरेको आक्रमणसँगै पश्चिमा देशले विभिन्नखाले प्रतिबन्ध घोषणा गरेका छन् । यसले रुबलको अवमूल्यन भएको छ । यही अवमूल्यन रोक्न यो निर्णय गरिएको हो । पश्चिमा देशका कम्पनी र सरकारले भने रुसको उक्त माग अस्वीकार गरेका छन् । हालसम्म यी देशले युरो वा अमेरिकी डलरमा रुसलाई भुक्तानी गर्दै आएका थिए ।
पश्चिमा देशले धेरै प्रतिबन्ध लगाए पनि ग्यास र कच्चा तेल आयातमाथि भने प्रतिबन्ध लगाएका छैनन् । युरोपले खपत गर्नेमध्ये ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाटै आयात गर्ने गरेको छ । यसको भरपर्दो विकल्प नहुँदा यी देशमा रुसले तेल र ग्यास आपूर्ति रोके समस्या आउने बताइएको छ ।