काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ऊर्जा क्षेत्रको विकास अपेक्षितरूपमा हुन नसकेको बताएकी छिन् । राजधानीमा सुरु भएको तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले नेपालमा ऊर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको यसको विकास अपेक्षितरूपमा हुन नसकेको बताइन् । यद्यपि ऊर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पु¥याएको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
पछिल्ला वर्षहरूमा ऊर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको समेत उनले उल्लेख गरिन् । साथै उनले ऊर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको बताइन् । जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिएकी उनले देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेकोले यसमा सम्बद्ध सबै पक्षले चासो दिनुपर्ने बताइन् । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले हरियाली प्रवद्र्धनमा लाग्न समेत आग्रह गरिन् ।
यस्तै कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युत्को विकासका लागि मन्त्रालयले पहलकदमी लिइरहेको बताए । ऊर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको भन्दै उनले ऊर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै विस्तार भएर जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको आरोप लगाए । नीति नियम तथा उच्च तहका व्यक्तिहरूको बोलाइभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुनेगरेको भन्दै श्रेष्ठले बोली र नियमअनुसार काम गर्न ध्यानाकर्षण समेत गराए । यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको हो । एक्स्पोले ऊर्जा विकासमा अवसरको खाजी गर्ने अपेक्षा गरिएको छ ।
इपान अध्यक्ष कृष्ण प्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले ऊर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र ऊर्जा उत्पादन भएको उल्लेख गरे । २०४७ सालको परिवर्तनपछि निजी क्षेत्रले एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिहरहेको भए पनि पछिल्लो तीन वर्षदेखि विद्युत् खरिदबिक्री सम्झौता हुन नसक्दा प्रवर्द्धकहरू हतोत्साहित बनेको आचार्यको भनाइ थियो । आगामी पाँच वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले नीति नियमका माध्यमबाट सहजीकरण हुनेमा आसावादी रहेको उनले बताए ।
कार्यक्रममा नेपाल भारत ऊर्जा व्यापारमा सक्रियरूपमा काम गरिरहेको साउथ एसिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेसन अफ इडियन इन्डिस्ट्रिजका डा. भुपेन्द्र कुमार सिंहलाई सम्मान गरिएको थियो । एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारीसाधनमा फाइनान्सिङ गर्ने जानकारी दिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारीसाधनको चाबी अनबिल गरेका थिए ।
विद्युतीय सवारीको -याली
तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सोको महत्वपूर्ण पाटोका रूपमा विद्युतीय सवारीसधनको -याली आयोजना गरिएको छ । एक्स्पोस्थल भृकुटीमण्डपबाट सुरु भएको -याली नेपालको पहिलो तथा एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट भृकुटीमण्डप आएर समापन भएको थियो । विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकारलाई दबाब दिने उद्देश्यले आयोजना गरिएको ¥यालीमा उल्लेख्य संख्यामा विद्युतीय सवारीसाधनको उपस्थिति थियो ।
फर्पिङ जलविद्युत् आयोजनामा -यालीका सहभागीलाई स्वागत गर्दै पर्यटनमन्त्री प्रेम आलेले ऊर्जाको आन्तरिक खपतका विषयमा एक्स्पो आयोजकले देखाएको चासो महत्वपूर्ण भएको बताएका थिए । एसियाको दोस्रो जलविद्युत् आयोजानास्थल फर्पिङलाई जलविद्युत्का क्षेत्रमा अनुसन्धान केन्द्र बनाउन तथा पर्यटकीय क्षेत्रका रूपमा बिस्तार गर्न पहल गर्ने बताउँदै उनले योजना पेस गर्न इपानलाई आग्रह समेत गरे । मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमा नै सो काम समेट्नका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने भन्दै योजना र विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेका हुन् ।