काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले बुधबार २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरूबारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूहरूबारे जानकारी दिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षितरूपले प्रगति पथमा लम्किरहेको जानकारी गराए ।
उनले सेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरूको सराहना गरे तथा आगामी दिनहरूमा यस्ता सुझावहरूको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट छ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ शूून्य दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले आर्थिक वर्ष २०७७/७८को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरूसहितको वित्तीय विवरणहरू छलफलपश्चात् पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ का निम्ति बाह्य लेखापरीक्षकका रूपमा रन्जीव एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारणसभाले मर्जर तथा एक्वीजिसनका निम्ति बैंक तथा वित्तीय संस्थाहरूबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । संस्थाले हाल १६ वटा शाखा कार्यालय तथा पाँचवटा एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरू स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।