काठमाडौं । धरान उपमहानगरपालिका १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर खुलेको छ । नेपाल बैंक लि. सञ्चालक समिति सदस्य डा. सावित्री रञ्जित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्तरूपमा विधिवत्रूपमा उक्त काउन्टरको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य डा. श्रेष्ठले विस १९९४ मा स्थापित देशकै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफूलाई उभ्याउँदै बैंकिङ सेवा दिने क्रममा क्याम्पसमा बैंकिङ सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ सेवाभावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरी थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरे ।
यसैगरी क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ इतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा सञ्चालन हुन गएकोमा धन्यवाद दिँदै बैंकको सेवा प्रवाह उच्चस्तरीय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटललगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भइरहेको सन्दर्भ उल्लेख गरे । सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रबन्धकलगायतका बैंक कर्मचारीहरू तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विसं २०१२ सालमा स्थापना भएको पूर्वक्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल पाँच हजार पाँच सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।