काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु न्यूनतम चुक्ता पुँजीवृद्धिको तयारीमा जुटेका छन् । यही चैत १० गते बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँलाई वृद्धि गरी दुई अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु पुँजीवृद्धिको तयारीमा जुटेका हुन् ।
समितिको पछिल्लो निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा हाल कायम रहेको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजीलाई वृद्धि गरी दुई अर्ब रुपैयाँ पु¥याउनुपर्नेछ । यसको लागि बीमा कम्पनीहरुले चैत १० गतेको मितिले एक महिनाभित्र न्यूनतम पुँजीवृद्धिको योजना बीमा समितिमा पेश गर्नुपर्नेछ । सोही आधारमा पनि अहिले निर्जीवन बीमा कम्पनीहरु पुँजीवृद्धिको दबाबमा परेका छन् ।
अहिले एकाधबाहेक सबैजसो निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँभन्दा माथि रहेकाले ती कम्पनीलाई पुँजीवृद्धि गर्न केही सहज देखिएपनि तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई भने निकै कठिन देखिएको छ । यो कम्पनीले समितिको पुरानै व्यवस्थाअनुसार न्यूनतम चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम गर्नसकेको छैन । यो अवस्थामा अबको एक वर्षमा राष्ट्रिय बीमा कम्पनीलाई हाल कायम रहेको २६ करोड ६३ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीलाई वृद्धि गरी दुई अर्ब रुपैयाँ पु-याउनु निकै कठिन हुने देखिएको छ ।
यीबाहेकका आईएमई जनरल, एनएलजी, हिमालयन, अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः एक अर्ब १५ करोड ७५ लाख ८६ हजार, एक अर्ब २० करोड ६० लाख १३ हजार, एक अर्ब १० करोड तीन लाख ३७ हजार, एक अर्ब र एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ छ ।
जनरल, सगरमाथा, सानिमा जनरल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीहरुको चुक्ता पुँजी भने क्रमशः एक अर्ब, एक अर्ब ११ करोड १३ लाख ५७ हजार, एक अर्ब र एक अर्ब १९ करोड ८९ लाख रुपैयाँ रहेको छ । शिखर, एभरेष्ट, सिद्धार्थ र प्रभु इन्स्योरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा क्रमशः एक अर्ब ७५ करोड ८५ लाख २४ हजार, एक अर्ब १८ करोड ३६ लाख चार हजार, एक अर्ब १२ करोड र एक अर्ब १६ करोड १९ लाख दुई हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यसैगरी प्रुडेन्सीयल, प्रिमियर, नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो अवधिसम्ममा क्रमशः एक अर्ब १० करोड ८५ लाख ४७ हजार, एक अर्ब सात करोड ४५ लाख ६० हजार, एक अर्ब २४ करोड २३ लाख ३९ हजार र एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् ।