काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरूले बताएका छन् ।
शनिबार सुरु भएको एक्स्पोमा दुई दिनमा जलविद्युत्सँग प्रत्यक्ष, अप्रत्यक्षरूपमा सरोकार राख्नेहरूको उल्लेख्य सहभागिता भएको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । घरायसी प्रयोजनका विद्युतीय सामग्री खरिद गर्नेहरूको चाप अधिक रहेको बताउँदै प्रधानले साना–ठूला उपकरणहरूका बारेमा जारी लिने तथा बुकिङ गर्न आउनेहरूको संख्या अपेक्षित भएको उल्लेख गरे । एक्स्पोमा चलिरहेको सेमिनारमा पनि गहन विषयहरूमा छलफल भएको बताइएको छ । यस्तै एक्स्पोको अन्तिम दिन सोमबार हुने अन्तिम सत्रमा जलविद्युत्् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ ।
ऊर्जा जलस्रोत सिँचाइ मन्त्री पम्फा भुषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णा कुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने आयोजकले जनाएको छ ।
नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहेको एक्स्पोमा एक सयभन्दा बढी स्टल रहेका छन् । जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहेका छन् ।
एनएमबी बैंकले टाइटल स्पन्सर गरेको एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू सहभागी छन् । सोमबार समापन हुने एक्स्पो अवलोकन गर्नेहरूमध्येबाट दैनिक १० जनालाई गोलाप्रथाबाट विद्युतीय चुलो वितरण गरिएको छ ।
नेपाली जलविद्युुत्को बजार प्रवर्द्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।