काठमाडौं । आउँदो वैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न हुँदै छ । त्यो दिन आउन अब केही हप्ता मात्रै बाँकी छ । तर यो चुनावमा राजनीतिक दलका एजेण्डा के हुन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन। शीर्ष नेताहरूका दौडाहा व्यापक भइरहेका छन् । ती दौडाहामा अरु दलका व्यक्तिलाई आफ्नो दलमा प्रवेश गराउने होड पनि त्यत्तिकै चलिरहेको छ । तर नेतृत्वबाट जस्तो असामाजिक खालका गालीगलौज आरहेका छन् तिनले छर्ने विषले समाजमा कस्तो प्रभाव पार्ला र ती नेतालाई अरुले हेर्लान् र समाजका परिवर्तनकारी भनेर सम्मान गर्लान् भन्ने प्रश्न उठिरहेका छन् । निर्वाचन त दलका एजेण्डामा हुनुपर्ने हो । तर प्रतिस्पर्धा चलिरहेको छ ‘गाली पुराण’मा । विगतका भन्दा यो चुनावमा गालीका यस्ता नयाँ–नयाँ प्रतिस्पर्धा चलिरहेका छन् । वास्तवमा सम्बोधन हुनुपर्ने विषयले ठाउँ पाउँदैनन् । स्थानीय तह भनेको विकास निर्माणका प्रमुख ठाउँ हुन् । तर नेताहरूले गालीलाई आकर्षक बनाएका पाइयो ।
जब चुनाव ऐजेन्डाले प्राथमिकता पाउँदैन, अझ भन्ने हो भने एजेण्डा नै हुँदैनन् वा देखिँदैनन् त्यसले वास्तवमा नै कसैको जित–हारको पनि अर्थ रहँदैन । चुनाव भनेको राजनीतिक विचारको बहस, मुलुक बनाउने दृष्टि र नागरिकप्रतिको चिन्ताबाट भरिपूर्ण हुनुपर्ने हो जसले त्यसको प्रतिस्पर्धा गराउँछ । तर चुनावका दिन जति नजिक आउँदै छन् गालीको प्रतिस्पर्धा त्यति नै घनीभूत हुँदै गइरहेका छन् । अघिल्लो हप्ता ठूलो दलका नेताले सुदूरपूर्वमा लामो भाषण गरे । त्यसमा उनले भने, ‘कार्यकर्ताले जुत्ता–चप्पल खियाएको मूल्य, बगाएका पसिनाको मूल्य र छोडेका कामको मूल्य र रोजगारीको समय छोडेर अन्तरेजन्तरेलाई हालेको भोटको मूल्य, त्यो कुरा सबै बिर्सिए ।
तर, त्यसको भत्ता खाइराखेका छन् । राजीनामा गर्नु पर्दैन ? भत्ता खाइराख्ने ? लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नु पर्दैन ? विचार गर्नुस् त, कतिसाह्रो लाज नभएको ? कमसेकम हामीले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि । एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईँहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरूलाई तपाईँहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’
यो सबैभन्दा ठूला दलका सबैभन्दा ठूला नेताको भनाइ हो । यो भनाइमा चुनावको कुन मुद्दा उठेको र नागरिकले केलाई हेरेर भोट दिने भन्ने प्रश्न उठ्ने भयो नै । त्यो कार्यक्रममा उनले थप भने, ‘हामी चुनाव पर्खिरहेका छौँ, वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँचदलीय गठबन्धनको भाँडो रित्तिँदैन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ।’ यो ठाउँमा यी नेताबाट आगामी पाँच वर्षका लागि यो दल एमालेले जनताका कस्ता समस्याको सम्बोधन गर्छ भन्ने एक शब्द पनि प्रकट भएनन् ।
जब ठूला नेताले नै चुनावलाई गाली पुराणमा परिवर्तन गरेपछि सानाले पनि त्यसको जवाफ दिनुपर्ने भयो नै । हुँदै जाँदा के भयो भने यो करिब महिना दिनको समय बाँकी रहेको अवस्थामा पनि यस्तो गालीबाहेक एजेण्डाले प्रवेश पाएको देखिएन । गाली गरेर मत बटुल्ने भन्ने नै गलत अभ्यास हो । शीर्ष तहबाटै आफ्ना समकक्षी नेताहरूलाई समाजले नै पचाउन नसक्ने गरी नामाकरण गरिनु र भोलि फेरि तिनैसँग सहकार्य गर्न खोजिनु आदिबाट आफ्नै व्यक्तित्वको क्षय हुन्छ । यस्तो गाली गर्ने काम जसबाट भए पनि तुरन्तै बन्द गर ।