काठमाडौं । एएसी इँट्टाको ब्रान्ड एम्बेसडरमा रवि लामिछाने नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमका बीच एएसी इँट्टा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् । एएसी इँट्टाप्रति आममानिसको भरोसा दिलाउन लामिछानेलाई छनौट गरिएको पाण्डेले बताए ।
निर्माणजगत्मा नयाँ आयाम थप्ने योजनाका साथ २०७२ सालको भूकम्पपछि फुरेको सोचलाई उद्योगसम्म पु-याउन सफल भएको बताउँदै यसलाई सबैले अपनत्व हुने गरी गुणस्तरमा ध्यान दिँदै आएको उनले बताए । यस्तै ब्रान्ड एम्बेसडर लामिछानेले युवाहरुको सोच र जोसलाई साथ दिनका लागि यो कम्पनीसँग आबद्ध भएको बताए । करिब तीन वर्षको लागि ब्राण्ड एम्बेसडरका रुपमा एएसी इँट्टासँग जोडिएको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्नसमेत आग्रह गरेका छन् । सन् २०१५ बाट सुरु भएको यो इँट्टा हलुका तथा वातावरणमैत्री मानिन्छ । विश्वका धेरै मुलुकमा प्रयोग भइसकेको एएसी इँट्टाको नेपालमा पनि ठूला भवन तथा अस्पतालहरुमा प्रयोग हुँदै आएको छ ।
पूर्णरुपमा प्राकृतिक सामग्रीहरुको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाइने हुँदा वातावरणमैत्री हुनाका साथै जलवायु विविधताका लागि पनि उपयुक्त निर्माण सामग्री रहेको कम्पनीको भनाइ छ । बालुवा, सिमेन्ट, चुना, आल्मुनियम पाउडर र जिप्सनसँग पानीको मिश्रण गरी एरिएटेड प्र्विधिबाट पूर्णस्वचालित अटोक्लेभ्ड मेसिनबाट निर्माण हुने गरेको जनाएको छ । साधारण इँट्टाभन्दा एक तिहाइ र आरसीसीभन्दा एक चौथाइ घनत्व कम हुने हुँदा भवनको भार कम गराउने साथै भवनलाई भूकम्प जाँदा लड्ने सम्भावनालाई न्यून गराउने र छ घण्टासम्म अग्निवहन समेत गर्ने दाबी कम्पनीको छ ।