अमेरिका । चर्चित कम्पनी अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जेसेले गत वर्ष २१ करोड २७ लाख अमेरिकी डलर लिएका छन् । कार्यकारीका रुपमा कम्पनीमा पहिलो वर्ष काम गरिरहेका उनको तलब निकै बढेको हो ।
कम्पनीले अमेरिकी धितो तथा विनिमय आयोगलाई शुक्रबार बुझाएको कागजातअनुसार उनको तलबबारे खुलेको हो । उनको तलबको धेरै हिस्सा भने सेयरबापत प्राप्त हुने गरेको छ । उनले अहिले पाएको तलब सन् २०२० को तुलनामा छ गुणा धेरै भएको बताइएको छ । उनी यसअघि अमेजनकै नाफा दिने क्लाउड कम्प्युटिङको प्रमुख थिए । उनी गत वर्ष समरमा मात्रै अमेजनको सीईओ बनेका थिए । अमेजनको सञ्चालक समितिमा समेत उनी कार्यकारी प्रमुख छन् ।
अघिल्ला सीईओ जेफ बेजोसले पद छोडेपछि एन्डीले उनको स्थान लिएका हुन् । बेजोसले आफ्नो अन्तरिक्ष कम्पनीमा ध्यान केन्द्रित गर्न भन्दै पद छोडेका थिए । बेजोसको ब्लु ओरिजिन नामक अन्तरिक्ष कम्पनी छ । बेजोसको तलब भने १७ लाख डलर रहेको छ । उनी विश्वका दोस्रा धनाढ्य हुन् ।