काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका–५ बस्ने इलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई पक्राउ गरेको छ ।
उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले तीन दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका गुरुङलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि पीडितलाई झुक्याएर प्रभु बैंक सिनामंगल काठमाडौंमा रहेको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ । यसैबीच महानगरी अपराध महाशाखा मीनभवनले पनि आईएमई मनी ट्रान्सफर र सिटी एक्प्रेस मनी ट्रान्सफरमार्फत रकम मगाएर ठगी गरेको अभियोगमा रामेछापको साँघुटार घर भई हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले ठगी गर्ने योजना बनाई फोन सम्पर्क गर्ने बिहे गर्ने प्रलोभन देखाई पीडितलाई विश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नको लागि भन्दै आईएमई तथा सिटी एक्सप्रेसमार्फत पटक–पटक गरी करिब ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महाशाखाको भनाइ छ ।