काठमाडौं, माघ २९
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालय धनगढीको उद्घाटन गरेको छ । कम्पनीले एक सय १७ वटा शाखा विस्तार गर्न सफल ज्योलिले आफ्नो प्रादेशिक कार्यालय धनगढी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंद्वारा उद्घाटन सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा अध्यक्ष चापागाईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानीय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारिता बढाउन बीमा समिति आफैँ लागिपरेको कुरा जानकारी गराए ।
साथै अहिलेसम्म नियामकीय प्रावधानअनुसारको पुँजी तोक्ने गरिएको भए पनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा जानकरी गराए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मालगायत कम्पनीका पदाधिकारीहरू उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले ज्योति लाइफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरूको हकमा पुराना कम्पनीहरूलाई पनि चुनौती दिन सफल भएको र सुदूरपश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुलासहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरूबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गाराए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले छोटो समयमा नै बीमाको दायरा छ प्रतिशतबाट २२ प्रतिसत पु-याउन बीमा समितिको अहम् भूमिका रहेको बताए ।