अमेरिका । अर्बपति इलोन मस्कले ट्विटरको सेयर खरिद गरेका छन् । सीएनएनका अनुसार चर्चित सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गर्दै मस्क कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता बनेका हुन् ।
मस्कले सेयर खरिद गरेको समाचारसँगै ट्विटरको सेयर सुरुवाती कारोबारमा २२ प्रतिशतले बढेको बताइएको छ । यद्यपि मस्कले सेयरको लागि के भुक्तानी गरे भन्नेचाहिँ खुलाएका छैनन् । तर उनको सेयर दुई अर्ब ९० करोड अमेरिकी डलर बढीको भएको बताइएको छ । शुक्रबार उनले खरिद गर्दा त्यति मूल्यबराबर भए पनि सोमबार बढेपछि त्यो साढे तीन अर्ब अमेरिकी डलरको भएको छ ।
सेयर खरिदको उद्देश्यबारे पनि थप केही जानकारी प्राप्त भएको छैन । उनी बारम्बार ट्विटरको चर्को आलोचक रहँदै आएका छन् । गत महिनामात्रै उनले ट्विटरको आलोचना गरेका थिए । यसको बदला नयाँ सामाजिक सञ्जाल ल्याउनेबारे ट्विट गरेका थिए ।
जुनसुकै बेला लगानीकर्ताले कम्पनीको पाँच प्रतिशत सेयर वा त्योभन्दा धेरै खरिद गर्दा सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई विवरण खुलाउनुपर्ने हुन्छ । तर मस्कले भने खुलाएका छैनन् । प्रविधि विश्लेषकहरुले भने मस्कले ट्विटरलाई परिवर्तन गराउन चाहेको हुनसक्ने बताएका छन् । ट्विटरको बोर्ड र मेनेजमेन्ट टिममा यसबारे छलफल थाल्न उनले गरेको लगानी एक प्रहारका रुपमा रहेको हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।