काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउन्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरूपमा उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५० पुगेको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उनले बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए । त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए । वडा अध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेशीसहर नगरपालिकाका केही वडाका बासिन्दाहरू बैंकिङ सेवाबाट लाभान्वित हुने कुरा बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरू, व्यवसायी र स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो । बैंकले मुलुकभर दुई सय ८८ वटा शाखा, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, दुई सय ५६ वटा एटीएम तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।