काठमाडौं । सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पशुपालनसम्बन्धी कृषि क्षेत्रहरूजस्तै बाख्रापालन, पशुपालन तथा तरकारीलगायतका मूल्य शृंखलाहरूमा संलग्न महिला उद्यमी तथा साना किसानहरूलाई सहज ढङ्ले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकासमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउनेछन् । साथै, समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो एक सय ९० वटा शाखा कार्यालयहरू, एक सय १४ शाखारहित बैंकिङ सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौताअनुरूप उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।