इस्तानबुल । मार्च महिनामा टर्कीको महंगीले नयाँ कीर्तिमान कायम गरेको छ । सरकारी तथ्यांकअनुसार बढ्दो ऊर्जा मूल्य र रुस–युक्रेन संकटले महंगी वृद्धिमा योगदान गरेको देखिएको छ । उपभोक्ता मूल्य बढेर ६१.१४ प्रतिशत वार्षिक दरमा पुगेको छ । जुन फेब्रुअरीमा ५४.४ प्रतिशत थियो । टर्किश मुद्रा लिराको अवमूल्यन र जीवनशैली लागत पनि बढिरहेको छ । लिरा डलरको तुलनामा १४.७ पुगेको छ । युरोको तुलनामा १६.२ पुगेको छ ।
मुख्य ऊर्जा आपूर्तिकर्ता रुस युक्रेनमाथिको आक्रमणमा व्यस्त छ भने गहुँको मुख्य आपूर्तिकर्ता युक्रेन पनि सोही आक्रमणको प्रतिरक्षामा केन्द्रित छ । यसले टर्कीलाई नराम्ररी प्रभाव पारेको छ । टर्कीको पर्यटन क्षेत्र पनि रुसी पर्यटकमा निर्भर छ । विश्वभर नै महंगी बढिरहेको बेला टर्किश राष्ट्रपति एर्डोगानले अर्थतन्त्रलाई आफ्नै तरिकाले अघि बढाउन खोजिरहेका छन् ।