कोलम्बो । श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सिन्ह्वाका अनुसार सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पूरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।
सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले शपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिएका हुन् । त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।
तर राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे । देशको अर्थतन्त्र चरम संकटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनलाई दबाउन सरकारले संकटकालसँगै कफ्र्यू जारी गरेको थियो ।