काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार सिन्धुपाल्चोक जिल्ला, साबिक लिसंखु ५ लाटेबोट डाँडा हाल काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध बस्ने ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेकोमा पक्राउ गरिएको हो ।
लामाले एनएमबी बैंक लिमिटेड बौद्ध, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेक दिएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार उक्त रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ चैत १ गते प्रतिवादी लामालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा २५ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद हुने ठहर गरेको थियो ।
अदालतको उक्त फैसलापश्चात् फरार भएका लामालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार फरार पक्राउ परेको लामालाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।