काठमाडौं । संसदीय समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगिक प्रयोजनका लागि सुपारी, मरिचलगायतका वस्तुको आयात अनुमति खुला गरेको थियो । देशमा विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको समयमा अनावश्यक वस्तुको आयात अनुमति दिनु उचित नहुने भन्दै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सुपारीको आयात रोक्न निर्देशन दिए । साथै उनले आयातको अवस्थाबारे स्थलगत अनुगमन गर्न दाङ, भैरहवा, नेपालगञ्ज लगायतका जिल्लामा जान लागेको बताए । ‘हामीले सुपारी, मरिचलगायतका प्रतिबन्ध लगाइएको वस्तुको आयात रोक्नुपर्ने माग राख्दै आएका थियौँ, अहिले देशमा विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको समयमा अनावश्यक वस्तुको आयात अनुमति दिनु उचित छैन, हामी भोलिदेखि केही दिन तराईका जिल्लामा स्थलगत अनुगमनमा जाँदै छौँ, हामी अनुगमन सकेर फर्किएपछि थप निर्णय गछौँ, अहिले तत्काल सुपारी आयातको अनुमति रोक्नुस्’, उनले भने । समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग सुपारीको आयातका बारेमा छलफल गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी आयातका लागि राजपत्रमा नै सूचना प्रकाशन गरेपछि उद्योगहरूले आयात अनुमति माग गर्दै उद्योग विभागमा आवेदन दर्ता गरेका थिए । उद्योग विभागका महानिर्देशक राजचन्द्र तिवारीले ४४ वटा उद्योगले सुपारी आयातका लागि अनुमति मागेको जानकारी दिए । अनुमति पाएका मध्येबाट विभागले छवटा उद्योगलाई सुपारी आयातको अनुमति दिन वाणिज्य विभागलाई पत्राचार गरेको उनको भनाइ छ । उद्योगले गरेको पत्राचारका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डाबर नेपाल प्रालि, सीजी फुड्स इन्डस्ट्रिज प्रालि, सीजी फुड्स इन्टरप्राइजेज प्रालि, सीजी फुड्स (नेपाल) प्रालि, यशोदा फुड्स प्रालि र दुगड स्पाइसेस एन्ड फुड प्रालिलाई आयातको अनुमति दिएको छ । उद्योग विभागले दिएको सिफारिसका आधारमा वाणिज्य विभागले सुपारी, मरिच र केराउ आयातकोे अनुमति दिने गरेको छ ।
केराउ र मरिच देशका लागि आवश्यक भए पनि सुपारी तत्कालका लागि आवश्यक नपर्ने छलफलमा सहभागी सांसदहरूले बताएका थिए । समितिका सदस्य एवं सांसद प्रकाश रसाइली ‘स्नेही’, अमृतादेवी अग्रहरी र दिलकुमारीले गुट्खा उद्योगका लागि सुपारी आवश्यक पर्ने भन्दै आयात रोक्दा समस्या नहुने बताए । छलफलमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले उद्योगले दिएको निवेदनका आधारमा अध्ययन गरेर मात्रै आवश्यकतानुसार आयातको अनुमति दिइएको बताए । (आर्थिक दैनिकबाट)