काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छिन् । अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको उनले बताइन् ।
नेपाल अपाङ्ग पुनस्र्थापना केन्द्रले काठमाडौंमा गरेको कार्यक्रममा उनले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको जानकारी दिइन् । अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्दै उनले भनिन्, ‘एउटा हात नभएको व्यक्तिले कसरी गरीखाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन प-यो ।’ अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै उनले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरिन् ।
‘राज्यको स्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ’, उनले भनिन्, ‘आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।’ नेपाल अपाङ्ग पुनस्र्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई ह्विलचेयर, कमोड चेयर, हट ब्याग ,सेनिटरी प्याड, बैसाखीलगायतका सामग्रीहरू वितरण गरेको हो ।