काठमाडौं । नेपाल बैंकले गुञ्जमान सिंह अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको र सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा सोमबार एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु-याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रसन्नता व्यक्त गरे । साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्दे गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहले पु-याएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उनको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरू विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होमबहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।