काठमाडौं । नेपालमा बदनामी कमाएको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना खोसिएको छ । चीनलगायतका अन्य देशमा गेजुवाले राम्रै काम गरे पनि नेपालका एजेन्टको बदमासीको कारण उक्त कम्पनीले नेपालमा ठूलो बदनामी कमाएको छ ।
गेजुवाको नेपाली एजेन्ट तथा त्यसका कामदारहरु नेपालमा दलाली मात्र गर्छन् । सोही कारण उक्त आयोजना अलपत्र परेको छ । स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयोजना गेजुवाको सट्टा स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । स्वदेशमा बनाउने मोडालिटी भने तयार भइसकेको छैन ।
स्वदेशी लगानीमा बनाउने निर्णयसँग अब सरकारले त्यसको ढाँचा तयार गरी स्रोत व्यवस्थापन गर्नेछ । अहिलेसम्म स्रोत व्यवस्थापनमा ठोस काम भएको छैन । गेजुवालाई पटक–पटक ताकेता गर्दा दलाली कुरा मात्र गरेको कारण ऊर्जा मन्त्रालयका अधिकारीहरु हैरान भएका थिए । गेजुवाबाट खोसेर उक्त आयोजना नेपालले नै बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले नै मन्त्रिपरिषद्मा लगेको थियो । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजना गेजुवालाई दिने निर्णय गरेका थिए ।