काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै गेसोले तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो ।
गेसोका संरक्षक पदम बहादुर गुरुङले नेपाली भूमिबाट तत्काल ब्रिटिस क्याम्प नहटाएसम्म सार्वभौमसत्ता नरहने टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले गत चैत ९ गते ब्रिटिस सैनिक क्याम्प हटाउनेबारे निवेदन दर्ता गर्न सर्वोच्च अदालत गएको तर अदालतले दर्ता गर्न नमानेको गुनासो गरे । ‘नेपालको संविधानविपरीत नेपाल, भारत ब्रिटिसको बीचमा गोप्यरूपमा त्रि–पक्षीय सन्धि भएको रहेछ’, उनले भने, ‘नेपाल, भारत र ब्रिटिसको बीचमा त्रिपक्षीय सम्झौता भएको छ, यो मुद्दा दर्ता गर्न मिल्दैन भनेपछि हामी आश्चर्यमा प¥यौँ ।’ उनले बेलायतले नेपालीहरूलाई युद्धमा प्रयोग गर्ने तर युद्ध सकिएपछि नेपाल–भारतको बोर्डरमा ल्याएर छाड्ने गरेको सुनाए ।
नेपाली युवाहरूले पटक–पटक बेलायतको पक्षमा युद्ध गर्दा पनि नेपालीलाई केही सुविधा नदिएको उनको गुनासो छ । अधिवक्ता बेलबहादुर गुरुङले देशमा धेरै परिवर्तन भए पनि बेलायत र नेपालको सन्धि पुनरावलोकन नगरेको भन्दै सरकारसँग गुनासो गरे । नेपालले आफ्ना युवाशक्तिलाई विदेश पठाउने गरेको भए पनि कुनै पुनरावलोकन नगरेर युवाहरूलाई दुरूपयोग गरेको गुरुङले आरोप लगाए । उनले भने, ‘यसलाई युवा तस्करी भन्न मिल्नपर्ने हो ।’ बेलायतमा नेपाली युवाहरूले रगत बगाएर बलिदान गरे पनि त्यसको बदलामा केही नपाएको दुखोसो पोखे । युवाहरूको यस्तो विषयलाई लिएर सर्वोच्च अदातलमा जाँदा पनि मुद्दा दर्ता नभएको भन्दै उनले आक्रोश पोखे ।