हङकङ । चिनियाँ प्रविधि कम्पनी जेडी डटकमका अर्बपति संस्थापकले प्रमुख कार्यकारीको पदबाट राजीनामा दिने भएका छन् । कम्पनीका सीईओ रिचार्ड लिउले पद छोड्ने भएका हुन् । उनको स्थान लेई सुले लिने बताइएको छ । सु अहिले कम्पनीका अध्यक्ष हुन् । कम्पनीको प्रमुखमा भने लिउ नै रहनेछन् । सुचाहिँ कार्यकारी निर्देशकको रुपमा बोर्डमा प्रवेश गर्नेछन् ।
मुख्य पदाधिकारीको फेरबदलको समाचारसँगै कम्पनीको सेयर हङकङमा बिहीबार तीन प्रतिशतले घटेको थियो । गत सेप्टेम्बरमा सु कम्पनीको अध्यक्ष बनेका थिए । जेडी डटकम चीनको ठूला इकमर्समध्ये एक हो । यसले आतिथ्यका लागि राम्रो चर्चा पाएको छ ।
लिउले सन् २००४ मा जेडी सुरु गरेका थिए । सन् २०१८ मा उनले दैनिक व्यवस्थापनबाट हात झिकेका थिए । त्यसको निकै समयपछि उनी अमेरिकामा बलात्कार गरेको आशंकामा समातिएका थिए । पछि उनीविरुद्ध कुनै अभियोग दर्ता भएन । त्यसपछि उनी धरौटीमा छुटेका थिए । लिउको अनुमानित सम्पत्ति १३ अर्ब ६० करोड डलर रहेको ब्लुम्बर्गको अर्बपति सूचकांकले देखाएको छ ।