मनिला । एसियाली विकास बैंकले चालू वर्षको एसियाको आर्थिक वृद्धिदर अनुमान बुधबार कटौती गरेको छ । कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण क्रमशः कम हुँदै गर्दा रुसले युक्रेनमा आक्रमण गरेपछि भएको बढ्दो मूल्यको दबाबपछि एडीबीले वृद्धिदर पूर्वानुमान घटाएको हो । एडीबीका अनुसार सन् २०२२ मा यस क्षेत्रमा ५.२ प्रतिशत आर्थिक वृद्धि हासिल हुनेछ । यसअघि डिसेम्बरमा उसले ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । महामारीबाट तंग्रिँदै गर्दा रुस युक्रेन संकटको असर देखिने उसको अनुमान छ । ककासस र मध्यएसियाले युद्धको प्रत्यक्ष प्रभाव सामना गर्दा समग्र एसिया अप्रत्यक्ष रुपमा प्रभावित हुने एडीबीले जनाएको छ । खासगरी खाद्य र ऊर्जाजन्य वस्तुको मूल्यवृद्धिको दबाब खेप्नुपर्ने बताइएको छ ।