काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्धनिर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई मन्त्रिपरिषद्को बिहीबारको निर्णयबमोजिम चार वर्षका लागि प्रबन्धनिर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धनिर्देशक पौडेलले कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पु-याउनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता समेत उनले जनाए ।
नेपाल सरकारको सूचना प्रविधिमार्फत राष्ट्रलाई समृद्ध बनाउने र मुलुकभरका आमजनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पु-याउने अन्तर्निहित उद्देश्यसँगै कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागि पर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्धनिर्देशक, निर्देशक, प्रबन्धक, अन्य वरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो । पौडेल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।