काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेको छ । दुवै संस्थाले मर्जरमार्फत यही चैत १९ गतेबाट सूर्योेदय वोमी लघुवित्त वित्तीय संस्थाको नाउँको एकीकृत कारोबार सुरु गरेको हो ।
एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकले यही फागुन पाँच गते एवं कम्पनी रजिष्टर्डको कार्यालयले यही चैत्र एक गते मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्न अनुुमति दिएसँगै दुवै संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेका हुन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १८ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७१ करोड ४१ लाख एक हजार रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच अर्ब तीन करोड ४४ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड १९ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७० लाख पाँच हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव चार प्रतिशत रहेको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ७७ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ३१ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब १४ करोड ६६ लाख नौ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच अर्ब ६९ करोड १४ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ७४ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ७७ लाख नौ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको छ ।