काठमाडौं । नेपाल बैंक लिमिटेडले बुधबार काठमाडौंको सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ प्रविधिहरू, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै विद्यार्थीहरूले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त भएको थियो । हाल नेपाल बैंकमा नयाँ जोस जाँगर भएका, प्रतिस्पर्धी सोच भएका ऊर्जाशील कर्मचारीहरू रहेको उल्लेख गर्दै उनले नेपालको पहिलो बैंकले आम नेपालीमा वित्तीय पहुँच पु-याउन गरिरहेको वित्तीय साक्षरता अभियान निकै प्रशंसनीय कार्य भएको बताए ।
नेपाल बैंक चावहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनीले नेपाल बैंक र बिलियन्ट क्याम्पस बीच रहेको निकट सम्बन्ध आगामी दिनमा थप मजबुत हुँदै जानेछ भन्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरतासम्बन्धी विभिन्न आयामहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै नेपाल बैंकले विद्यार्थीहरूलाई लक्षित गरी ल्याएका विभिन्न बैंकिङ प्रोडक्ट तथा सेवा सुविधाहरूको बारेमा जानकारी गराए ।