काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १५ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत २१ गते पनि राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत २९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरुमा क्रमशः ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ असार २८ गते, एक सय ८२ दिने अवधिको २०७९ असोज २५ गते र तीन सय ६४ दिने अवधिको २०७९ चैत २८ गते परिपक्व हुने अवधि तोकिएका छन् ।
राष्ट्र बैकका अनुसार आज बिक्री हुुने ती ट्रेजरीमा पाँच अर्ब रुपैयाँ बराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरण अन्तर्गतको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।