काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघसंस्था एवं निकायका प्रतिनिधिहरू अतिथिको रूपमा आमन्त्रित रहेका थिए । सभालाई स्वागत तथा कार्यक्रमबारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले गरेका थिए । उक्त सभाबाट सर्वसाधारण सेयरधनीहरूमध्येबाट दुई जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो । दुई जना सञ्चालक छनोटका लागि भएको निर्वाचनमा जम्मा एक लाख २६ हजार २६ मत खसेकोमा एक सय ३९ मत बदर भएको थियो । भने गोकर्ण खतिवडाले ६७ हजार चार सय ४७ मत, अशोक सिटौलाले ५३ हजार नौ सय तीन मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र)ले चार हजार पाँच सय ३७ मत प्राप्त गरेका थिए । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रूपमा चयन भएका छन् । नवनियुक्त सञ्चालकहरूलाई वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रमाणपत्र प्रदान गर्नुका साथै शपथग्रहण गराएका थिए । साधारणसभामा प्रस्तुत भएका बाँकी सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित भएका छन् ।
सभाबाट सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँमध्येबाट ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर तथा तीन दशमलव ६८ प्रतिशतले हुन आउने रकम दुई करोड २४ लाख १४ हजार सात सय ३६ रुपैयाँ ८४ पैसा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित भएको छ । यसैगरी संस्थाको जारी पुँजी ६० करोड ८४ लाखबाट वृद्धि गरी एक अर्ब तीन करोड ४२ लाख ८० हजार रुपैयाँ पु-याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पुँजी दुई अर्ब बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत स्वीकृत भएको छ ।