काठमाडौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवं सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपालको व्यवस्थापन क्षेत्रमा पु-याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मान गरेको छ । शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको जानकारी दिएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै म्यानेजर अफ दि इयर अवार्ड २०२२ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फिलो एनआईसी एसियन्सलाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनोट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरूप्रति कृतज्ञता जाहेर गरे । उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब चार गुणाले वृद्धि भई दुई खर्ब ७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब चार गुणाले वृद्धि भई तीन खर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब दुई गुणाले वृद्धि भई ४१ रुपैयाँ ४३ पैसा पुगेको छ ।
बैंकले उनको नेतृत्वमा २०७८ पुस मसान्तसम्ममा देहायबमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ । नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धिहरूमध्ये उपरोक्त उपलब्धिहरू ऐतिहासिक हुन् । उल्लिखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु-याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रूपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ ।
साथै, समस्त ग्राहकहरू, सेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पुँजीमा प्रतिफललगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस ‘म्यानेजर अफ दि इयर अवार्ड २०२२’ सम्मानले बैंकको सञ्चालक समिति, डिएनए ओभर साइट कमिटीलगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको छ । यस अवसरमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंक नेपाल व्यवस्थापन संघप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ । प्रमुख कार्यकारी न्यौपाने सम्माननीय राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सीईओ अफ दि एयर, २०७८ र ग्लोबल बिजनेस आउटलुक (जीबीओ लन्डनबाट बैंकिङ सीईओ अफ दि एयर २०२१ बाट समेत सम्मानित भएका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय एक वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।