काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थितपार्क सफारी रिसोर्ट प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
हालै वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत्र ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यकलगायतका योजनाहरू पनि सार्वजनिक गरेको हो । सो योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइनमार्फत एक हजार वा बढीको कारोबार गर्दा एकमुष्ट दुई सय रुपैयाँ क्यास ब्याक दिइनेछ ।
साथै, पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्कमार्फत प्रारम्भिकरूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बंैकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगविना नै प्राप्त गर्न सक्नेछन् ।
साथसाथै बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।