काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मुकुन्द सुवेदी र दराजकातर्फबाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सीमित समयको लागि डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन अनुरोध गरेको छ ।
सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बैंकले जानकारी दिएको छ । देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी एक सय ३७ वटा शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएममार्फत ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।