अमेरिका । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । ‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरेँ । र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ’, उनले भने, ‘के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’
सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको -यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ‘एकपछि अर्को अपमानजनक आत्मसमर्पण’ गरेको आरोप लगाए । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औँल्याए ।
मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेसलाई भनेका थिए कि यदि उनी अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिने थिएँ । यस महिनाको सुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुवैभन्दा अगाडि भएको देखाएको थियो । (रासस–एएनआई/स्पुतनिक)