इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद् विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसद्मा उनको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो ।
शनिबार अपराह्न यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसद्मा आफ्नो बहुमत गुमाए । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो । संसद्मा बहुमत गुमाएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।
पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको सांसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उनी पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ । यी विविध कारणहरु देखाएर पाकिस्तानको संसद्मा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए ।
सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने
यसैबीच, इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ । रासस/सिन्हवा