काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बताएकी छिन् । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले उक्त कुरा बताएकी हुन् ।
अहिले सिंगो बैंकिङ प्रणालीसहित लघुवित्त क्षेत्रमा पनि तरलता र ब्याजदरको समस्या रहेको भन्दै उनले यस्तो समाधान हुनको लागि केही समय पर्खिनुपर्ने बताएकी हुुन् । ‘व्यापारको नियमित चक्र हुन्छ, यो क्षेत्र केही खल्बलिए पनि क्रमिकरुपमा सुधार आउँछ’, कामु गभर्नर डा. ढुंगानाले भनिन् ।
वित्तीय पहुँचको दायराभन्दा बाहिर रहेका करिब २० प्रतिशत जनतालाई लघुवित्त वित्तीय संस्थाहरुले सेवा पु-याएको भन्दै उनले गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासको लागि लघुवित्तको ठूलो भूमिका रहेको बताइन् । समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा यसको असर लघुवित्त क्षेत्रमा समेत परेको उनको भनाइ छ ।