काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष खड्ग बहादुर देवकोटा, सहकारीको प्रबन्धनिर्देशक रहेकी देवकोटाकी श्रीमती सविना वाग्ले र सोही सहकारीका सदस्य रहेका कृष्ण रामदामले आपसी मिलेमतोमा एक महिला स्वस्थानी केसीको सबै चल/अचल सम्पत्ति खाएपछि कीर्ते र जालसाजी गरी उल्टै ऋण बोकाइदिएको समाचार प्रकाशित गरेपछि देवकोटा दम्पतीले आर्थिक दैनिकका सम्पादक, कार्यकारी सम्पादक र संवाददाताविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरेका छन् । यद्यपि उनीहरुले पत्रिकालाई समाचार प्रकाशन गर्न रोक लगाउन गरेको मागमा न्यायाधीश विमला सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न आवश्यक ठानेन । यही चैत २१ गतेको उक्त आदेशपछि अदालतले जवाफ पेश गर्न पत्रकारहरुलाई आदेश दिएको छ ।
उक्त मुद्दामा चितवनको जग्गा राखेर ऋण लिन लागेकी स्वस्थानी केसीले जग्गा बेचेको झूठो विवरण उल्लेख गरिएको छ । उक्त जग्गा राखेर केसीलाई ऋण दिन सहकारीकी प्रबन्धनिर्देशक वाग्ले दुईपटक चितवन गएकी थिइन् । चितवन जानुअघि कृष्ण रामदामले केसीलाई सहकारीको सम्पर्कमा पु-याएका थिए । केसीले रामदामको सुन पसलमा १८ तोला सुन राखेर केही रकम निकालेकी थिइन् । उनलाई रकम चाहिएको देखेपछि रामदामले केसीलाई आधारभूत सहकारीको सम्पर्कमा पु-याएका थिए । पहिलो पटक चितवनको जग्गा हेर्न जाँदा काम मिलेन भनेर फर्किएका थिए । चितवन जानुअघि नै सहकारीमा केसीको नाममा खाता खोलिएको थियो ।
दोस्रो पटक चितवन गएर रामदाम र सविना वाग्लेले धितो रोक्का गरी कर्जा दिने कागजपत्र भनी स्वस्थानीलाई हस्ताक्षर गरी जालसाजी गरेर जग्गा आफ्नो नाममा नामसारी गराएका थिए । केसी त्यहाँ जग्गा बिक्री गर्न गएकी थिइनन्, उनी जग्गा धितो राखेर कर्जा लिन गएकी थिइन् । सहकारीकी प्रबन्धनिर्देशक वाग्लेले उनको नाममा खोलिएको खातामा रकम जम्मा गरेको भौचर देखाएर जग्गा पास गरी आफ्नो नाममा नामसारी गराएकी थिइन् । त्यो भौचर कीर्ते थिएन, सक्कली नै थियो । त्यो उनकै सहकारीमा रकम भएको केसीको खातामा रकम जम्मा गरेको भौचर थियो तर त्यो रकम केसीको हातमा नै पुगेन । किनकि उनको नाउँको त्यो खाता सहकारीकै देवकोटा दम्पतीले सञ्चालन गरेका थिए ।
२०७५ चैत २४ मा जग्गा धितो राखेर ऋण लिन जाँदा त्यसको दुई दिनअघि नै केसीको खातामा ३० लाख रुपैयाँ जम्मा गरेको विवरण उनीहरुले नै मुद्दामा उल्लेख गरेका छन् । उनीहरुले त्यतिबेला ऋण पास भयो भनेर चेक बुक पनि दिए । दुईवटा चेकमा हस्ताक्षर गर्न पनि लगाए । त्यस्तै जालसाजी गरेर उनीहरुले रकम यताउता गराए तर त्यो रकम ऋण लिएकी केसीको भोगचलनमा आएन । अर्थात् केसीको खाता उनीहरुले नै ‘अपरेट’ गरे । त्यसको १५ दिन नबित्दै उनै केसीलाई २५ लाख रुपैयाँ कर्जा दिएको कागज बनाए । त्यसका लागि सहकारीका देवकोटा दम्पतीले केसीलाई कुनै जानकारी गराएनन् । पहिला खाता खोल्ने कागजातमा हस्ताक्षर गराउँदा नै यथेष्ट कागजातमा हस्ताक्षर गराएको हुनुपर्दछ अन्यथा फेरि लोनको लागि फाइल खडा हुनसक्ने थिएन । २०७६ वैशाख ५ मा २५ लाख ऋण दिएको कागज पनि बनाए । आफ्नै सहकारी भएकाले उनीहरुले आफ्नो हात जगन्नाथ गरेका रहेछन् र स्वस्थानी केसीको नाममा खाता खोलेर उनीहरुले नै रकम हाल्ने, झिक्ने गरेका रहेछन् । होइन भने केसीको नाममा रहेको भनिएको दुई पटकको भनी देखाइएको कारोबारको रकम कहाँ गयो, कसले झिक्यो, कसले लग्यो, कसले राख्यो भन्ने विषय रहस्यकै गर्भमा छ ।
पीडित केसीका अनुसार जग्गा फिर्ता राखिएको हो तर त्यो जग्गा सहकारीकी वाग्लेले कसरी किनिन् ? जग्गा बिक्री हो भने सहकारीमा स्वस्थानीको नाममा खाता किन खोलियो ? स्वस्थानीको नामको खातामा जम्मा गरेको रकम कति पटकमा कसले झिक्यो ? जग्गा बेचेको हो भने स्वस्थानीको नामबाट केको किस्ता हालियो ? त्यो किस्ता कसले हालेर स्वस्थानीको नाममा कीर्ते कारोबार देखायो ? स्वस्थानीले कुनै पनि रकम झिक्ने र किस्ता हाल्ने कारोबार गरेको छैन भनेकी छिन् भने उनको नाममा त्यो कीर्ते र जालसाजी कसले ग-यो ?
स्वस्थानीले १८ तोला सुन बन्धक राखेको कृष्ण रामदाम पनि त्यही सहकारीको सदस्य हुनुपर्दछ र त्यहीकारण उसले स्वस्थानीलाई त्यहाँ पु-यायो । त्यहाँबाट सविना वाग्लेलाई समेत लिएर चितवन पु-यायो चितवनको रामनगर पुगेपछि अर्को पात्र प्रवेश गरायो । कीर्ते र जालसाजी गरेर स्वस्थानीको जग्गा खुवायो, स्वस्थानीको १८ तोला सुनका गरगहना आफैँ पचायो र स्वस्थानीका नाममा जालसाजी र कीर्ते गरी थप २५ लाख ऋण बोकाएर आफू सम्पर्कविहीन बनेको छ । यो पनि देवकोटा दम्पतीसँगको सहमतिमै भएको नहोला भन्न सकिँदैन ।
दिनदहाडै यसरी एउटी महिला ठगिएको सारा सम्पत्ति लुटिएर उल्टै थप ऋणी बनाइएको घटना विवरण आएपछि त्यसका बारेमा प्रतिक्रिया लिन खड्ग बहादुर देवकोटालाई सम्पर्क गर्दा पत्रकारले धम्क्यायो भन्ने जस्ता कुतर्क गरेर मुद्दा हालिनु र पत्रिकालाई समाचार छाप्न रोक लगाउन माग गर्नुले नै आधारभूत सहकारीका सञ्चालकको जालसाजी र कीर्ते धन्दालाई थप स्पष्ट पारेको छ ।
समाचार छापिएको मिडियामा खण्डन नै नपठाई समाचार छापिएको भोलिपल्टै सिधै समाचार खण्डन गर्न नियमन निकायबाट पत्र आउनु त्यसको पर्सिपल्ट अदालतबाट मुद्दा आउनु र त्यही दिन मुद्दा बुझ्न जोरजुलुम गर्दिनुले पनि आधारभूत सहकारीको गतिविधिलाई थप रहस्यपूर्ण बनाएको छ । आर्थिक दैनिकमा नै खण्डन पठाउनुपर्थ्यो र त्यसरी पठाउँदा पनि खण्डन छापिन्थ्यो । तर त्यसो गरिएन र त्यसको उल्टो अदालतबाटै समाचार लेख्न प्रतिबन्ध लगाउन माग गरियो । यस्तो हर्कत सामान्य मानिसबाट हुन्छ र गल्ती नगरेको मान्छे यति धेरै हडबडाउँदैन पनि । देवकोटा दम्पतीले कानुनका छिद्र खोज्नु पनि उनीहरुले स्वस्थानी केसीको नाममा कीर्ते र जालसाजी गरेको थप संकेत गर्दछ ।