काठमाडौं । नेपाली सेयरबजारमा सुझबुझसहित लगानी गर्ने लगानीकर्ताहरुको संख्या निकै कम छ । त्यही कारण पनि नेपाली सेयर बजारमा बजार घट्दा पनि कमाउने र बढ्दा पनि कमाउने भनेका ठूला लगानीकर्ताहरुले नै हुन् जो सीमित संख्यामा छन् । यही समूहको स्वार्थअनुसार बजार बढ्ने र घट्ने गरेका टीकाटिप्पणीहरु पनि सेयर लगानीकर्ताहरुकै मुखबाट सुन्न पाइन्छ । चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा आएपछि नै सेयरबजारको ओरालो यात्रा सुरु भयो । गभर्नर महाप्रसाद अधिकारीले मार्जिन लेन्डिङमा क्याप लगाइदिएपछि सेयरबजार निरन्तर ओरालो लाग्न थालेको हो ।
सोही कारण पनि हुनसक्छ, गभर्नर अधिकारीलाई सेयर लगानीकर्ताहरुले त्यति राम्रोरुपमा लिइरहेका थिएनन् । उनकै कारण सेयरबजार निरन्तर ओरालो लागेको भन्दै गभर्नरविरुद्ध पटक–पटक नाराबाजी र जुलुस पनि भएका थिए । यही बीचमा गत बिहीबार सरकारले गभर्नर अधिकारीलाई निलम्बन ग-यो । सरकारको गोप्य सूचना चुहाएको, गल्ती गर्ने राष्ट्र बैंकका सञ्चालकलाई कारबाही नगरेको भन्दै उनलाई निलम्बन ग-यो । गभर्नर अधिकारीको निलम्बनपछि सेयर बजार बढ्नसक्ने अपेक्षा आम लगानीकर्ताहरुले गरेका थिए । तर गभर्नर निलम्बन भएपछिको पहिलो दिनको कारोबारमा त्यसको खासै प्रभाव देखिएन । कारोबार खुलेको पहिलो एक घण्टा सेयरबजार परिसूचक उकालो लागेको भए पनि अन्तिम समयमा आएर बजार ओरालो लागेको छ ।
यसअनुसार सोमबार बजार परिसूचक ४४ दशमलव ५६ अंंकले ओरालो लागेर २४ सय १९ दशमलव ८० विन्दुमा खुम्चिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८७ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ८७ विन्दुमा खुम्चिएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजार आठ सय ३४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट यस दिन कुल सेयर कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लागेर सेयरबजार परिसूचक पूरै रातो देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १४ दशमलव २६ अंकले ओरालो लागेर १५ सय ९७ दशमलव ७१ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ६४ दशमलव १८ अंकले ओरालो लागेर ४१ सय ७८ दशमलव आठ विन्दुमा झरेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ६० दशमलव ९८ अंकले ओरालो लागेर २७ सय ८५ दशमलव ९२ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि ४५ दशमलव ८३ अंकले ओरालो लागेर १८ सय ७६ दशमलव २८ विन्दुमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ५५ दशमलव ५९ अंकले ओरालो लागेर १२ हजार दुई सय ८८ दशमलव ८३ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि चार सय ३१ दशमलव ८२ अंकले ओरालो लागेर १३ हजार दुई सय ७१ दशमलव पाँच विन्दुमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः ६४ दशमलव ६२, ६९ दशमलव ५७, एक सय २८ दशमलव ९५, ९१ दशमलव चार, ५१ दशमलव ५९, शून्य दशमलव ११ र एक दशमलव ९४ विन्दुले ओरालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १८ सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर चार सय ९१ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
यीबाहेक मिथिला लघुवित्त वित्तीय संस्था, मल्टिपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य भने नौ दशमलव ९८ प्रतिशतले घटेर एक हजार एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९२ प्रतिशतले बढेर १३ सय ८० रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, हिमालयन पावर पार्टनर आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता नौ सय ४० रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ५२ लाख ८० हजार एक सय ६४ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि प्रतिकित्ता तीन सय १८ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा सात करोड २१ लाख २० हजार एक सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।